
बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि नेकपा, एमाले र राप्रपाबीच समझदारी भएको छ । समझदारीपत्रमा संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणका लागि सहकार्य गर्ने उल्लेख छ ।
समझदारीअनुसार सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा साविक ८ मन्त्रालय नबढ्ने गरी सरकार सञ्चालन गरिनेछ । प्रदेशसभाको रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ ।
सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरी सात दिनभित्र सार्वजनिक गर्ने र त्यसका लागि सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, नेकपा एमालेबाट दिनेशनन्द देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापति र नुरज बज्राचार्य रहेका छन् ।
समझदारीमा सरकार सञ्चालनसम्बन्धी विषयमा आवश्यक सल्लाह, सुझाव र समन्वयका लागि संयन्त्र गठन गर्ने, मन्त्रिपरिषद्मा महिला सहभागितासहित समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र त्यसपछि राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था गर्ने उल्लेख छ ।
समझदारीपत्रमा राप्रपाका दल नेता उद्धव थापा, एमालेका दल नेता जगन्नाथ थपलिया, नेकपा बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेल र मुख्यमन्त्री किरण थापा मगरले हस्ताक्षर गरेका छन् ।









