झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ का रूपमा प्रचार गर्दै अतिरञ्जित सामग्री प्रसारण गर्ने युट्युब च्यानल कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले हालसम्म बिना दर्ता सञ्चालन भएका १६ युट्युब च्यानललाई अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ भने काउन्सिलमा दर्ता भएका ३८ च्यानलहरूलाई स्पष्टीकरण माग्दै पत्र पठाएको छ ।
विशेषगरी पीडित युवती, आरोपी जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडिओ तथा तस्बिरहरू बिना अनुमति प्रकाशन गर्ने युट्युब च्यानलहरू कारबाहीको दायरामा परेका छन् । घटनालाई अतिरञ्जित गर्दै सनसनीपूर्ण सामग्री सम्प्रेषण गरी पीडित परिवारलाई अनावश्यक दबाब दिने, अमर्यादित प्रश्नहरू सोध्ने तथा सामाजिक संवेदनशीलतामा आँच पुर्याउने कार्य रोक्न दैनिक १८ घण्टासम्म अनुगमन गरिरहेको काउन्सिलले जनाएको छ ।












